त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ। फागुन १ गते केही समूह र राजनीतिक दलले विमानस्थल आसपास प्रदर्शन गर्ने तयारी गरेका छन्।
यही अवस्था र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
बिहीबारदेखि लागू हुने गरी एक महिनाका लागि जारी गरिएको निषेधाज्ञा अनुसार विमानस्थल क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन पाउने छैनन्।
विमानस्थलको गोल्डेन गेटदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ र परिसरभित्रका सम्पूर्ण सडकमा अनसन, धर्ना, घेराउ, जुलुस र सभा जस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा उच्छृङ्खल गतिविधि हुन सक्ने र त्यसले तोडफोड वा आगजनीको जोखिम निम्त्याउन सक्ने उल्लेख छ।
नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रताप्रति प्रशासन प्रतिबद्ध रहे पनि संवेदनशील क्षेत्रको सुरक्षालाई प्राथमिकता दिइएको प्रशासनको भनाइ छ।
निषेध गरिएका क्षेत्र बाहेकका स्थानमा शान्तिपूर्ण विरोध गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ। पूर्वजानकारी गराएर गरिने कार्यक्रमबाट पनि सरकारी वा सार्वजनिक सम्पत्तिमा क्षति पुगेमा त्यसको क्षतिपूर्ति आयोजकबाटै असुल गरिने चेतावनी समेत दिइएको छ।
