फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन दलहरूलाई आयोगको निर्देशन
काठमाडौँ। निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारहरूलाई तोकिएको समयभित्र चुनावी घोषणापत्र बुझाउन निर्देशन दिएको छ।
निर्वाचन आचारसंहिता २०८२ अनुसार घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निकायमा पेस गर्न आयोगले यस्तो निर्णय गरेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै राजनीतिक दलहरूले २०८२ साल फागुन ३ गतेभित्र आफ्नो घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउनुपर्नेछ।
प्रत्यक्षतर्फका उम्मेदवारहरूले पनि घोषणापत्र सार्वजनिक गरेर सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आचारसंहिता बमोजिम यो निर्देशन जारी गरेको बताएको छ। समयमै घोषणापत्र पेस नगरेमा कानुनअनुसार कारबाही हुन सक्ने आयोगले जनाएको छ।
निर्वाचन प्रक्रियालाई पारदर्शी र अनुशासित बनाउन यो व्यवस्थालाई कडाइका साथ लागू गरिएको आयोगको भनाइ छ।
