‘नेपालमा भ्रष्टाचार नियन्त्रण सुधार हुन सकेन’
काठमाडौँ। अघिल्लो वर्षको तुलनामा नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको एक सर्वेक्षणले देखाएको छ। भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार नेपालले भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा गतवर्ष झैँ ३४ अंक मात्रै पाएको छ।
नेपालले पाएको अंक स्थिर रहे पनि सुधार गर्ने अन्य मुलुकका कारण वरीयता भने दुई स्थानले खस्किएर १०९ औँ पुगेको छ। यो सर्वेक्षण गत भदौको ‘जेनजी’ आन्दोलनअघिको अवधिमा आधारित छ। त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए भने एमाले-कांग्रेसको गठबन्धन सरकार रहेको थियो।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यकारी निर्देशक आशिष थापाले ५० भन्दा कम अंक ल्याउने मुलुकहरू भ्रष्टाचार नियन्त्रणमा असफल मानिने बताए। उनले नेपालको अंक स्थिर रहनुले भ्रष्टाचारको अवस्थामा कुनै सुधार नभएको पुष्टि हुने उल्लेख गरे।
प्रतिवेदनले नेपालको सार्वजनिक क्षेत्र, व्यापार व्यवसाय र ठेक्कापट्टामा हुने घुसखोरी अझै नियन्त्रण हुन नसकेको औँल्याएको छ। राजनीतिक भ्रष्टाचारको व्यापकता र न्यायपालिका एवं सुरक्षा निकायमा हुने पदको दुरुपयोग अझै चुनौतीपूर्ण देखिएको सर्वेक्षणको निष्कर्ष छ।
दक्षिण एसियामा ७१ अंकसहित भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको छ। विश्वभरमा ८९ अंकसहित डेनमार्क सबैभन्दा स्वच्छ र ९ अंक पाएको दक्षिण सुडान सबैभन्दा भ्रष्ट मुलुकको सूचीमा रहेका छन्।
ट्रान्सपरेन्सी नेपालका महासचिव डा. सागरराज शर्माले नेपालको अवस्था भयावह रहेको बताए। उनले सुशासनका लागि आगामी निर्वाचनबाट भ्रष्टाचारमा नमुछिएका र स्वच्छ छवि भएका जनप्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिए।
