निर्वाचन सुरक्षामा कडाइ: सुरक्षाकर्मीलाई राजीनामा र बिदामा रोक
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चारवटै सुरक्षा निकायले आफ्ना कर्मचारीलाई राजीनामा दिन र घरबिदा बस्न रोक लगाएका छन्।
निर्वाचन सुरक्षामा ठूलो संख्यामा जनशक्ति परिचालन गर्नुपर्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले यस्तो निर्णय गरेका हुन्।
सशस्त्र प्रहरीले विज्ञप्तिमार्फत नै निर्वाचन नसकिउन्जेलसम्मका लागि राजीनामा, घरबिदा, रमाना र सरुवाका सबै प्रक्रिया स्थगित गरेको जानकारी दिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सेना निर्वाचन सुरक्षामा केन्द्रित भइसकेकाले अहिलेको अवस्थामा बिदा वा राजीनामाको सुविधा नरहेको प्रष्ट पारे। सेनाले गत बुधबारदेखि नै देशभरका संवेदनशील क्षेत्रहरूमा सुरक्षा कमान्ड सम्हाल्न सुरु गरिसकेको छ।
त्यस्तै, नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले देशभरका प्रहरी कर्मचारीलाई निर्वाचन सम्पन्न नभएसम्म कार्यक्षेत्र नछाड्न निर्देशन दिइएको बताए।
उनका अनुसार किरिया, सुत्केरी जस्ता अति नै अत्यावश्यक र भैपरी आउने परिस्थितिको हकमा भने उचित व्यवस्थापन गरिनेछ। हाल प्रहरी जनशक्ति निर्वाचन सुरक्षा र विशेष अनुशिक्षण तालिममा व्यस्त रहेका छन्।
यसपटकको निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३८ हजार सुरक्षाकर्मी मैदानमा उत्रिने तयारीमा छन्। जसमा ८० हजार सेना, ७१ हजार प्रहरी, ३५ हजार सशस्त्र प्रहरी र २ हजार राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिनेछन्।
साथै, १ लाख ५० हजारको संख्यामा भर्ना गरिएका निर्वाचन प्रहरी (म्यादी प्रहरी) पनि अर्को सातादेखि फिल्डमा खटिने योजना छ।
निर्वाचन आयोगले पनि सरकारलाई निर्वाचन प्रभावित पार्ने गरी कर्मचारीको सरुवा, बढुवा र नियुक्ति नगर्न निर्देशन दिइसकेको छ। फागुन २१ गते देशभर एकै चरणमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि मतदान हुँदैछ।
