‘चुनावमा नक्कली प्रतिबद्धतापत्र बाँडेर प्रचार’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर भ्रम फैलाइएको भन्दै निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पुनले आफ्नो सचिवालयमार्फत यस्तो कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न माग गरेका हुन्। सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको र निर्वाचन आचारसंहिताको उल्लंघन भएको उजुरीमा उल्लेख छ।
“मतदातालाई भ्रमित पारेर स्वतन्त्र निर्वाचनको वातावरण बिथोल्न खोजिएको छ, यस्ता भ्रामक सामग्री हटाएर दोषीमाथि कडा कारबाही होस्,” पुनले दिएको उजुरीमा भनिएको छ। उनले आफ्नो तर्फबाट हालसम्म कुनै पनि लिखित प्रतिबद्धतापत्र सार्वजनिक नगरेको र पार्टीको घोषणापत्र पनि लेखनकै चरणमा रहेको प्रष्ट पारेका छन्।
पुनको नाममा सामाजिक सञ्जालमा भाइरल बनाइएको नक्कली प्रतिबद्धतापत्रमा रोल्पाका विभिन्न स्थानमा ‘रेड लाइट एरिया’ तोक्ने, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, प्रत्येक वडामा क्याम्पस खोल्ने र मेट्रो रेल सञ्चालन गर्ने जस्ता अस्वाभाविक र भ्रमपूर्ण बुँदाहरू राखिएका छन्। प्रतिस्पर्धी उम्मेदवारले मतदातामाझ आफ्नो छवि बिगार्न यस्तो हर्कत गरेको पुनको दाबी छ।
