प्रत्यक्षतर्फको ५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५५ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार बुधबार साँझसम्म ६० लाख थान मतपत्र छापिएको हो।
यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फका सबै मतपत्रहरू छापिसकिएको छ। आयोगले माघ १२ गते समानुपातिकको छपाइ सकेर लगत्तै प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गरेको थियो। आगामी फागुन ११ गतेभित्र देशैभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका लागि आवश्यक पर्ने सबै मतपत्रहरू छापिसक्ने आयोगको लक्ष्य छ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नेपाली सेनाको कडा सुरक्षा घेराभित्र मतपत्र छपाइ भइरहेको छ। प्रत्यक्षतर्फका लागि सेतो कागजमा रातो रङको चुनाव चिह्न भएको मतपत्र तयार पारिएको छ। जसमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका चिह्नहरू समावेश छन्। हाल दैनिक करिब १३ लाखको सङ्ख्यामा मतपत्र छपाइ भइरहेको छ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार समानुपातिकतर्फ २ करोड ८ लाख प्रति मतपत्र छापिएको छ भने प्रत्यक्षतर्फ २ करोड ३ लाख प्रति छाप्ने योजना छ। प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवार चुनावी मैदानमा छन्। उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार सानो वा ठूलो हुने गरी डिजाइन गरिएको छ।
फागुन ११ गते छपाइ सकिएपछि फागुन १२ गतेदेखि नै मतपत्र ढुवानी सुरु गरिनेछ। हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, मनाङ र मुस्ताङमा भने नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र पुर्याइनेछ। अन्य जिल्लाहरूमा टेन्डरमार्फत छानिएको कम्पनीले ढुवानी गर्नेछ। अन्य निर्वाचन सामग्रीको ढुवानी भने यही फागुन १ गतेदेखि नै सुरु गर्ने आयोगको तयारी छ।
