चुनावी खर्च अब अनिवार्य बैंक खातामार्फत

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूले चुनावका क्रममा प्राप्त गर्ने चन्दा र गर्ने खर्चलाई पारदर्शी बनाउन नयाँ नियम लागू गरेको छ।

‘निर्वाचन अभियान बैंक खाता कार्यविधि, २०८२’ पारित गर्दै आयोगले अबदेखि सबै आर्थिक कारोबार बैंक खातामार्फत मात्रै गर्नुपर्ने व्यवस्था गरेको हो।

नयाँ कार्यविधिअनुसार उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढीको सहयोग सोझै बैंक खातामा लिनुपर्नेछ। सोभन्दा कम रकम नगदमा लिए पनि अनिवार्य रूपमा रसिद काटेर बैंकमा जम्मा गरेपछि मात्र खर्च गर्न पाइनेछ।

उम्मेदवारहरूले चुनावी प्रयोजनका लागि छुट्टै नयाँ खाता खोल्नुपर्ने र चुनाव सकिएको ३५ दिनभित्र उक्त खाता बन्द गर्नुपर्ने नियम बनाइएको छ। यद्यपि, बैंकहरूले ती खाताको विवरण ६ वर्षसम्म सुरक्षित राख्नुपर्नेछ।

आयोगले वैदेशिक सहायता, सरकारी निकाय र पब्लिक कम्पनीहरूबाट चन्दा लिन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने व्यक्ति वा संस्थाको विस्तृत विवरण उम्मेदवारले अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ।

यस्तो खर्चको कडा निगरानीका लागि देशभरका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखहरूलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ।

अनुगमन अधिकृतहरूले उम्मेदवारले तोकिएको खर्चको सीमा पालना गरे/नगरेको, सरकारी सम्पत्तिको दुरुपयोग भए/नभएको र आमसभा वा मञ्च तयारीमा भएको खर्चको सूक्ष्म जाँचबुझ गर्नेछन्।

काठमाडौँका १० वटा निर्वाचन क्षेत्रका लागि पाँचवटा कोष तथा लेखा नियन्त्रण कार्यालयलाई जिम्मेवारी बाँडफाँट समेत गरिसकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *