प्रतिनिधिसभा निर्वाचन: सुरक्षाका लागि ७९ हजार सैनिक मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि बुधबारदेखि देशभर नेपाली सेना परिचालन गरिएको छ।

‘एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२’ अनुसार कुल ७९ हजार ७ सय २७ सैनिक जवानहरू मैदानमा उत्रिएका हुन्।

निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सेनाले कारागार, विमानस्थल र सार्वजनिक भवन जस्ता संवेदनशील संरचनाको सुरक्षा जिम्मेवारी सम्हाल्नेछ।

गृह मन्त्रालयका अनुसार सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी कुल ३ लाख ३७ हजार ९ सय ११ सुरक्षाकर्मी परिचालन हुनेछन्।

सुरक्षा व्यवस्थालाई तीन घेरामा विभाजन गरिएको छ। पहिलो र दोस्रो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी रहनेछन् भने तेस्रो घेरामा नेपाली सेना र सशस्त्र प्रहरी बल तैनाथ हुनेछन्।

यसपटक सेनाले मतपेटिकाको सुरक्षा र ढुवानीमा समेत प्रत्यक्ष भूमिका खेल्नेछ।

निर्वाचन आयोगका अनुसार १ करोड ८९ लाखभन्दा बढी मतदाताले १० हजार ९ सय ६७ मतदानस्थलबाट मतदान गर्नेछन्।

सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय गर्न गृह मन्त्रालयले निर्देशन दिइसकेको छ।

हवाई गस्ती र आकस्मिक परिचालनका लागि समेत सेना पूर्ण तयारी अवस्थामा रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *