मतदाता परिचयपत्र नभए यी ६ कागजातबाट पनि दिन सकिन्छ मत
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन चाहने मतदाताहरूका लागि निर्वाचन आयोगले महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ।
आयोगका अनुसार मतदान गर्नका लागि मतदाता परिचयपत्र नै हुनुपर्ने अनिवार्य छैन। यदि तपाईंको नाम मतदाता नामावलीमा दर्ता छ तर परिचयपत्र हराएको वा नष्ट भएको छ भने पनि तपाईंले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुहुनेछ।
निर्वाचन आयोगको कल सेन्टरमा प्राप्त आम नागरिकका जिज्ञासाहरूको जवाफ दिँदै आयोगले वैकल्पिक कागजातको व्यवस्थाबारे स्पष्ट पारेको हो।
मतदाता नामावलीमा नाम भएका नागरिकले आफूसँग भएका ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एउटाको सक्कल प्रति देखाएर मतदान केन्द्रबाट मत खसाल्न सक्नेछन्।
यो व्यवस्थाले गर्दा परिचयपत्र नभएकै कारण कुनै पनि योग्य नागरिक आफ्नो संवैधानिक अधिकारबाट वञ्चित हुनुपर्ने छैन।
निर्वाचन आयोगले तोकेका वैकल्पिक कागजातहरूमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी (पासपोर्ट), सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) रहेका छन्।
यीमध्ये कुनै पनि आधिकारिक र सक्कल कागजात साथमा लिएर मतदान केन्द्र पुगेमा मतदान गर्न पाइनेछ। आयोगले मतदानका लागि सबैभन्दा अनिवार्य सर्त भनेको मतदाता नामावलीमा नाम दर्ता हुनु रहेको स्पष्ट पारेको छ।
त्यसैले आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भन्ने कुरा मतदान अगावै सुनिश्चित गर्न र निर्धक्क भएर फागुन २१ गते आफ्नो मतदान केन्द्रमा पुगी राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आयोगले सबैमा आग्रह गरेको छ।
