यसपटक १ करोड ७९ लाख मतदाता, कुन क्षेत्रमा कति ?
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।
आयोगका अनुसार यस पटकको निर्वाचनमा कुल १ करोड ७९ लाख ३ हजार ९९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।
आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकलाई मतदानको अधिकार दिइएको छ।
आयोगले ७७ वटै जिल्लाका १६५ निर्वाचन क्षेत्रको विस्तृत मतदाता विवरण सार्वजनिक गर्दै चुनावी तयारीलाई अन्तिम चरणमा पुर्याएको छ।
जिल्लागत विवरण अनुसार रामेछापमा सबैभन्दा धेरै मतदाता रहेका छन्। त्यहाँ कुल १ लाख ८७ हजार ९५२ जना मतदाता सूचीकृत छन्।
अर्कोतर्फ, हिमाली जिल्ला मनाङमा सबैभन्दा कम मतदाता रहेका छन्। मनाङमा जम्मा ७ हजार मतदाताले मत खसाल्नेछन्। रोचक कुरा के छ भने, सबैभन्दा धेरै मतदाता भएको रामेछाप र सबैभन्दा कम मतदाता भएको मनाङ दुवै एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला हुन्।
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमै यतिबेला राजनीतिक दलहरू आफ्नो चुनावी प्रचारप्रसार र घोषणापत्र तयारीमा व्यस्त देखिएका छन्।
आयोगले मतदाताहरूको नामावली छपाइ कार्य समेत सुरु गरिसकेको छ। मतदाताले आफ्नो नाम र मतदान केन्द्रको विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइटमार्फत अनलाइनबाटै हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

