निर्वाचनमा वडा तहको सहकार्य: नयाँ अवधारणा सार्वजनिक
काठमाडौँ । गृह मन्त्रालयले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न वडा तहका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्ने नयाँ अवधारणा तयार गरेको छ।
मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२’ जारी गर्दै यसको कार्यान्वयनका लागि देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको छ।
निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत्, निजी क्षेत्र र प्रबुद्ध वर्गको भूमिका महत्त्वपूर्ण हुने तथ्यलाई ध्यानमा राख्दै यो नीति ल्याइएको हो।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले वडा तहमा रहेका प्रभावशाली व्यक्तिहरूलाई निर्वाचन व्यवस्थापनमा सहभागी गराई उनीहरूको अपनत्व बढाउनु नै यसको मुख्य उद्देश्य रहेको जानकारी दिए।
यसले तल्लो तहदेखि नै निर्वाचनको विश्वसनीयता र निष्पक्षता कायम गर्न मद्दत पुग्ने विश्वास मन्त्रालयले लिएको छ।
यस अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीहरूलाई दिइएको छ।
प्रशासनले वडा स्तरसम्म पुगेर स्थानीय राजनीतिक शक्ति र समाजका अगुवाहरूसँग समन्वय गरी निर्वाचन सुरक्षा र व्यवस्थापनका चुनौतीहरूलाई सम्बोधन गर्ने रणनीति बनाएको छ।
