खेत जोतिरहेका किसानको गोली हानी हत्या

काठमाडौँ। सिराहामा खेत जोतिरहेका एक किसानको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका छन्। सिराहा नगरपालिका-१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि शुक्रबार अज्ञात समूहले गोली प्रहार गरेको हो।

स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेका थिए। सोही अवस्थामा उनीमाथि गोली प्रहार भएको र यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी दिँदै वडा अध्यक्ष महेश कुमार यादवले खेत जोत्न गएका बेला उनीमाथि गोली प्रहार गरी हत्या गरिएको खबर प्राप्त भएको बताए। उनले घटनाको थप विवरण बुझ्न आफू अस्पतालतर्फ जाँदै गरेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले प्रारम्भिक अनुसन्धानमा घटनास्थलको अवस्था हेर्दा गोली नै हानी हत्या गरिएको देखिएको बताए।

हत्या कसले र किन गरेको हो भन्ने विषयमा हालसम्म केही खुल्न सकेको छैन। प्रहरीले घटनालाई गम्भीरताका साथ लिँदै अपराधीको खोजी र थप अनुसन्धानलाई तीव्रता दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *