इन्जिनियरविरुद्ध ‘अकुत’ सम्पत्तिको मुद्दा: पौने ७ करोडको बिगो दाबी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सार्वजनिक पदमा रहँदा अकुत सम्पत्ति कमाएको पुष्टि भएपछि आयोगले उनीमाथि ६ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मंगलबार मुद्दा दायर गरेको हो।
आय ३ करोड, खर्च १० करोड !
अख्तियारले आचार्य सेवा प्रवेश गरेको मिति २०४८ माघ ६ देखि २०८० असार ६ सम्मको सम्पत्ति छानबिन गरेको थियो। अनुसन्धानका क्रममा आचार्य र उनको परिवारको वैध आय ३ करोड ५१ लाख ४ हजार २१० रुपैयाँ मात्र देखियो। तर, सोही अवधिमा उनको खर्च तथा लगानी भने १० करोड २९ लाख ९९ हजार २२६ रुपैयाँ पाइएको छ। आयोगका अनुसार उनको वैध आयको तुलनामा ६ करोड ७८ लाख ९५ हजार १५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न सकेको छैन।
आचार्यले अवैध रूपमा कमाएको रकम घरजग्गा, सवारी साधन, बीमा तथा छोराछोरीको शिक्षामा खर्च गरेको पाइएको छ। भ्रष्टाचारको पैसा लुकाउन उनले श्रीमती लिली सुवेदीको नाममा समेत जग्गा र सम्पत्ति जोडेको अनुसन्धानबाट खुलेको छ। सोही कारण अख्तियारले श्रीमती सुवेदीलाई पनि प्रतिवादी बनाउँदै सम्पत्ति जफत गर्न माग गरेको छ।
आयोगले आचार्यले बुझाएको सम्पत्ति विवरण समेत शंकास्पद र अमिल्दो रहेको जनाएको छ। वास्तविक सम्पत्ति लुकाएर झुटा विवरण दिएको र मनासिब कारण बिना नै उच्च जीवनस्तर बिताएको आयोगको निष्कर्ष छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आचार्यलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय, बिगो बमोजिम जरिवाना र अवैध सम्पत्ति जफत गर्न मागदाबी गरिएको छ।
