३ अर्ब २१ करोड बिगो दाबी गरिएको टेरामक्स मुद्दाको सुनुवाइ सुरु

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत जोडिएको टेरामक्स प्रकरणको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा यस मुद्दाको पेसी तोकिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित १६ जना र सम्बन्धित कम्पनीउपर ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी गर्दै जेठ १ गते मुद्दा दायर गरेको थियो। मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई मन्त्रिपरिषद्को अधिकार प्रयोग गरेर टेरामक्स प्रणाली खरिदका लागि निर्देशन दिएको अख्तियारको आरोप छ।

अनुसन्धानका क्रममा सम्भाव्यता अध्ययन र लागतको यकिन नै नगरी व्यक्तिगत सूचनामा पहुँच पाउने गरी अनधिकृत संरचना स्थापना गर्न राज्यको सम्पत्ति दुरुपयोग गरिएको भेटिएको छ। परामर्शदाताले डिजाइन र स्थापना जस्ता मुख्य काम नै नगरी १ अर्ब ११ करोड ६२ लाखभन्दा बढी भुक्तानी दिइएको र यसबाट प्राधिकरणलाई ठुलो हानी पुगेको अभियोगपत्रमा उल्लेख छ।

यसअघि विशेष अदालतले सर्वोच्च अदालतबाट भएका दुईवटा आदेशको प्रमाणित प्रतिलिपि झिकाउन र टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवालीको बकपत्र गराउन आदेश दिएको थियो। २०७२ माघ २१ को सर्वोच्चको आदेशविपरीत र प्रचलित कानुन मिचेर यो प्रणाली कार्यान्वयनमा ल्याइएको अख्तियारको ठहर छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *