बालेन र हर्क साम्पाङसहित ५ उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गरेको र चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको लगायतका आरोपमा आयोगले उनीहरूलाई जवाफ मागेको हो।

स्पष्टीकरण सोधिएकाहरूमा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), भक्तपुर–२ का महेश बस्नेत, सुनसरी–१ का हर्क साम्पाङ र रूपन्देही–२ का निकोलस भुसाल रहेका छन्। बालेनमाथि सोही क्षेत्रका अर्का उम्मेदवार केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गरेको आरोप छ। यस्तै, महेश बस्नेतलाई बालेनलाई लक्षित गरी ‘छाउरा’ जस्ता शब्द प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधिएको हो।

सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङलाई चुनाव प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको र उनीहरूलाई चुनाव चिह्न अंकित टिसर्ट लगाउन लगाएको आरोपमा आयोगले जवाफ मागेको छ। रूपन्देही–२ का निकोलस भुसाललाई भने ‘जेनजी’ आन्दोलनको जुत्तालाई चुनाव चिह्नका रूपमा गलत ढङ्गले प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको छ।

यसैगरी, भक्तपुर–२ की उम्मेदवार जानुका पाठकलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। उनलाई अन्य उम्मेदवारप्रति घृणाजन्य टिप्पणी गरेको तथा हत्यारा र बलात्कारी जस्ता शब्द प्रयोग गरेको आरोप लागेको छ। निर्वाचन आचारसंहिता विपरीतका गतिविधि बढेको भन्दै आयोगले कडाइ सुरु गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *