म नसुतेका रातहरू…

ठ्याक्कै ३ वर्ष भयो

तर मेरो मनको क्यालेन्डरमा समय कहिल्यै अघि बढेन-

उहाँ जानुभएको त्यो दिनमै रोइरहेको छ।

म नसुतेका रातहरू,

मन चिरेर बितेका बिहानहरू,

उहाँको नाम सुन्नासाथ हल्लिने आत्मा-

सबै आज फेरि छताछुल्ल भएर बगिरहेका छन्।

उहाँको हाँसो… आज पनि कानमै लागिरहन्छ।

उहाँको बोल्ने चाल… अझै छातीभित्र गुन्जिरहन्छ।

उहाँले हेर्ने आँखा… अझै मुन्टो उठाउँदा कहीं न कहीं झल्किन आउँछ।

कहिलेकाहीँ त लाग्छ

उहाँ कहाँ जानुभयो?

मनका कुन कुनामा अझै लुकेर बसिरहनुभएको छ?

सम्झनाका कुन झ्यालमा अझै मलाई हेर्दै मुस्कुराइरहनुभएको छ?

तर यथार्थ कठोर छ-

उहाँ मेरा हात समातेर हिँड्ने बाटोमा अब हुनुहुन्न।

त्यही भएर त आज

यो मुटु चिसो, खाली र टुक्रिएको अनुभूति हुन्छ !

उहाँले जानुअघि लेखेर छोड्नुभएको त्यो एउटा वाक्य-

“मेरो जस्तो पीडा कसैले भोग्न नपरोस्।”

यही वाक्य मेरो जीवनको श्वासजस्तै बनिसकेको छ।

उहाँको छायाँसँग बाँचिरहेको,

तर उहाँकै प्रकाशले दिनहरू अघि धकेलिरहेका छन्।

हो,

म उहाँलाई असिमित रूपमा मिस गर्छु।

शब्दभन्दा पर, आवाजभन्दा पर,

मनले समाउन नसक्ने गरी गहिरोसम्म।

हरेक रात…

उहाँलाई सम्झेर आँसु पोखिन्छ।

हरेक बिहान…

उहाँ बिना अधुरो लाग्छ।

तर छोरीहरूको हात समाएर हिँड्दा-

उहाँका सपनाहरू फेरि–फेरि सम्झना आउँछ।

उहाँले भोगेको पीडा

उनीहरूले कहिल्यै नदेखून्, नछोउन्-

यही सोचेर म आफूलाई सम्हालिरहेकी छु।

हो, म एक्लै छु।

तर एक्लोपनमा पनि उहाँको माया छ।

उनैको सम्झनामा टेकेर बाँचिरहेकी छु।

उनैको अधुरो आवाजलाई आफ्नो धड्कनमा राखेर।

आजको दिन,

उहाँलाई सम्झेर मन बिथोलिए पनि

म यही कामना गर्छु-

कोही पनि यस्तो चिरिएको हृदय लिएर बाँच्न नपरोस् !

कसैको परिवार यति ठूलो विछोडको अँध्यारोमा नडुबोस् !

पीडा एक्लै सहनुभन्दा, मानिसहरूले एक-अर्कालाई चोखो साथ दिन सकून् !

र त्यो दिन आए- उहाँका शब्दहरूले कसैको जीवन बचाओस् !

उहाँको आत्मालाई

शान्ति।

माया।

प्रणाम।

उहाँ हरेक दिन मसँग हुनुहुन्न,

तर हरेक दिन मेरो जीवनभित्र उहाँकै ठाउँ छ-

सधैं।

अनन्तसम्म।

* * * 

‘संघर्षको पीडाले प्रेमलाई आत्मदाह गर्न बाध्य पार्यो’

प्रेम आचार्यको परिवारलाई क्यानाडा र अमेरिकाबाट १ लाख ४२ हजार सहयोग

प्रेम आचार्यको परिवारलाई ५० लाख


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *