महावीर पुनले दिए शिक्षामन्त्रीबाट राजीनामा

काठमाडौँ। अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुनले आफ्नो पदबाट राजीनामा दिएका छन्। अन्य मन्त्रीहरू चुनावी मैदानमा उत्रिनका लागि राजीनामा दिइरहेका बेला पुनले भने पुनः आफ्नै अभियानमा फर्कन मन्त्री पद त्याग गरेका हुन्।

पुनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। खनालले लेखेका छन्- “महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो!” शिक्षामन्त्री पुनले आफ्नो राजीनामाबारे प्रधानमन्त्री सुशीला कार्कीलाई मौखिक जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले पुष्टि गरेका छन्।

मन्त्रीहरू मैदानमा यसअघि नै ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएर ‘उज्यालो नेपाल पार्टी’को अध्यक्षका रूपमा चुनावी मैदानमा उत्रिसकेका छन्। घिसिङको पदचाप पछ्याउँदै अन्य मन्त्रीहरूले पनि चुनावका लागि राजीनामा दिने क्रम बढेको छ।

राजीनामा दिने अन्य मन्त्रीहरूमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन्। यी दुवै मन्त्रीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका छन्।

अन्तरिम सरकारका प्रभावशाली मन्त्रीहरूले एकपछि अर्को गर्दै राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। महावीर पुनले भने राजनीतिभन्दा आफ्नो पुरानै आविष्कार र सामाजिक अभियानलाई प्राथमिकता दिने निर्णय लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *