देउवा पक्षद्वारा ‘सेटिङ’ को आरोप

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई सुम्पिएपछि पार्टीभित्रको आन्तरिक कलह नयाँ र जटिल मोडमा पुगेको छ। शुक्रबार आयोगले पुस २७ देखि ३० गतेसम्म सम्पन्न ‘विशेष महाधिवेशन’ लाई वैधानिकता दिँदै थापा नेतृत्वको समितिलाई आधिकारिक रूपमा अद्यावधिक गर्ने निर्णय गरेलगत्तै संस्थापन (देउवा) पक्ष आक्रोशित बनेको छ।

आयोगको निर्णय सार्वजनिक भएलगत्तै उपसभापति पूर्णबहादुर खड्का शुक्रबार साँझ आयोग पुगेर कडा आपत्ति जनाएका छन्। खड्काले आयोगको निर्णय आफूहरूलाई कुनै पनि हालतमा मान्य नहुने बताउँदै यसलाई ‘षड्यन्त्रपूर्ण र सेटिङको उपज’ भएको आरोप लगाए। उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “”सबै सेटिङमा भयो, यो निर्णय कांग्रेसको विधानविपरीत छ। हामी यस विरुद्ध वैधानिक, राजनीतिक र कानुनी सबै प्रकारको लडाइँ लड्छौँ।”

यसैबीच, शेरबहादुर देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले पनि आयोगको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको आरोप लगाउँदै आगामी रणनीतिका लागि छलफलमा जुट्ने बताए। आयोगको यो निर्णयसँगै दशकौँदेखि देउवा पक्षको नियन्त्रणमा रहेको नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र ‘चारतारे झण्डा’ को आधिकारिक प्रयोग गर्ने अधिकार तत्कालका लागि गगन थापा पक्षको हातमा पुगेको छ।

आयोगको निष्कर्ष र थापाको वैधानिकता निर्वाचन आयोगले दुवै पक्षबाट प्राप्त कागजात र दलसम्बन्धी ऐनको अध्ययनपछि बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थिति रहेको भन्दै विशेष महाधिवेशनलाई मान्यता दिएको हो। थापा पक्षले बिहीबार मात्रै नयाँ कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो।

यस निर्णयले फागुन २१ का लागि तय भएको मध्यावधि निर्वाचनको मुखमा कांग्रेसलाई स्पष्ट दुई धारमा विभाजन गरिदिएको छ। अब देउवा पक्षले आयोगको यो निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत जाने तयारी गरेको बुझिएको छ, जसले गर्दा कांग्रेसको विवाद झनै लम्बिने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *