गगन थापा नेतृत्वको कांग्रेसले पायो मान्यता

काठमाडौँ । नेपाली कांग्रेसभित्रको तीव्र विवादका बीच निर्वाचन आयोगले गगनकुमार थापालाई पार्टीको आधिकारिक सभापतिको मान्यता दिएको छ। पार्टी विवरण अद्यावधिक गर्ने विषयमा देखिएको कानुनी र राजनीतिक खिचातानीपछि आयोगले थापा पक्षको निवेदनलाई सदर गर्दै उनलाई सभापतिको रूपमा वैधानिकता दिएको हो।

यसअघि महाधिवेशनबाट निर्वाचित सभापतिको रूपमा थापा पक्षले विवरण अद्यावधिक गर्न दिएको निवेदन र त्यसको विरुद्धमा शेरबहादुर देउवा पक्षले दर्ता गराएको असहमति पत्रमाथि आयोगले शुक्रबार सघन छलफल गरेको थियो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरूको बैठकले कानुन तथा राजनीतिक दल महाशाखाको परामर्शका आधारमा थापाको पक्षमा निर्णय सुनाएको हो।

आयोगको यो निर्णयसँगै कांग्रेसको नेतृत्वलाई लिएर लामो समयदेखि कायम अन्योल अन्त्य भएको छ। आयोगको कार्यालय बाहिर कुरेर बसेका थापा पक्षका नेता तथा कार्यकर्ताहरूले निर्णयको स्वागत गर्दै खुसीयाली मनाउन थालेका छन् भने देउवा पक्षले यसमा कस्तो प्रतिक्रिया दिन्छ भन्ने चासो बढेको छ। फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा आयोगको यो फैसलाले कांग्रेसको चुनावी रणनीति र उम्मेदवार चयन प्रक्रियामा दूरगामी प्रभाव पार्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *