कांग्रेसको आधिकारिकता : गगन थापा समूह आज निर्वाचन आयोग जाँदै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूह आज पार्टीको अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोग जाँदैछ।

भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक बसी त्यसको निर्णयसहित यो समूह आयोग जान लागेको हो। अधिवक्ता राजु कटवालका अनुसार बिहीबार मध्याह्न १२ देखि १ बजेको बीचमा आयोगमा दाबी पेश गर्ने तयारी छ।

नयाँ नेतृत्व र वैधानिकताको दाबी

बुधबार सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई निर्विरोध सभापति चयन गरेको छ। नयाँ कार्यसमितिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति तथा प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री चुनिएका छन्। यो समूहले ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको समर्थन आफूहरूसँग रहेको र विशेष महाधिवेशन विधानसम्मत भएको दाबी गर्दै आफूहरू नै ‘आधिकारिक कांग्रेस’ भएको जिकिर गरेको छ।

यता, शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले भने यो महाधिवेशनलाई अवैधानिक ठहर गर्दै गगन थापा, विश्वप्रकाश शर्मा र फार्मुल्लाह मन्सुर लगायतका नेताहरूलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। संस्थापन पक्षले कांग्रेसको कुनै विशेष महाधिवेशन नभएको जानकारी यसअघि नै निर्वाचन आयोगलाई गराइसकेको छ।

के होला अब?

राजनीतिक दल सम्बन्धी ऐनको प्रावधान अनुसार यो समूहले पार्टीको नाम, झण्डा र चुनाव चिह्न (रुख) माथि दाबी गर्नेछ। आगामी फागुनमा हुने निर्वाचनको मुखमा कांग्रेसभित्र देखिएको यो विभाजन र आधिकारिकताको लडाइँले नेपाली राजनीतिमा ठूलो तरंग पैदा गरेको छ। अब निर्वाचन आयोगले गर्ने निर्णयले कांग्रेसको भविष्य र चुनाव चिह्न कसको हुने भन्ने कुराको फैसला गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *