सुनसरीमा ट्रक पल्टियो, एकै वडाका ५ मजदुरको मृत्यु

विराटनगर । माघे सङ्क्रान्तिको बिहानी सुनसरीको भोक्राहानर्सिङमा ट्रक दुर्घटना हुँदा एकै वडाका पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ। विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक हुलाकी राजमार्ग अन्तर्गत भोक्राहानर्सिङ–८, सोनियाहीमा बिहीबार बिहान करिब साढे ५ बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सडकको घुम्तीमा तीव्र गतिमा रहेको ट्रक अनियन्त्रित भई पल्टिएको थियो। ट्रकको पछाडि सामानमाथि बसेका पाँचै जना मजदुरको टायल र मार्बलले थिचिएर घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन्। मृत्यु हुनेमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेका छन्।

दुर्घटनाग्रस्त ट्रकमा चालकसहित कुल ९ जना सवार थिए। अगाडि क्याबिनमा बसेका ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् र उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ। दुर्घटनालगत्तै ट्रकका चालक भने फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी कार्य जारी राख्नुका साथै घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *