वार्ता र निर्वाचन प्रक्रिया सँगसँगै, उम्मेदवारी दर्ता सुरु
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक कलहका बीच विशेष महाधिवेशन पक्षधरले नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियालाई तीव्रता दिएका छन्।
संस्थापन पक्षसँग सहमतिका लागि विभिन्न चरणमा संवाद भइरहे पनि ठोस निष्कर्ष निस्कन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भृकुटीमण्डपमा निर्वाचनका कार्यक्रमहरू अगाडि बढाइएका हुन्।
मंगलबार दिउँसोदेखि निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरी उम्मेदवारी दर्ताको काम सुरु गरेको छ।
पार्टी विभाजन रोक्नका लागि दुवै पक्षका वार्ता टोलीबीच लाजिम्पाट र महाराजगञ्जमा पटक–पटक छलफल भए पनि नेतृत्व त्याग र शक्ति बाँडफाँडमा कुरा मिल्न सकेको छैन। वार्ता चलिरहेकै समयमा विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा भने निर्वाचनको चहलपहल बढेको छ।
निर्वाचन समितिले १३ जना पदाधिकारीसहितको नयाँ कार्यसमितिका लागि उम्मेदवारी आह्वान गरेको छ, जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीका पदहरू रहेका छन्।
विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षलाई नेतृत्व हस्तान्तरणका लागि अन्तिम अवसर दिइएको बताए पनि देउवा पक्षले भने यस महाधिवेशनको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आएको छ। यद्यपि, भृकुटीमण्डपमा उपस्थित ठुलो सङ्ख्याका महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गरेरै छाड्ने अडान लिएका छन्।
निर्वाचन समितिले तोकेको तालिका अनुसार आजै मनोनयन दर्ता, दाबी–विरोध र अन्तिम नामावली प्रकाशनको काम सकिनेछ भने राति ९ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ। पार्टीभित्रको यो शक्ति सङ्घर्षले नेपाली कांग्रेसलाई कुन दिशामा लैजान्छ भन्ने कुरा अब हुने निर्वाचन र त्यसपछिको राजनीतिक समीकरणले तय गर्नेछ।
