‘हामी परिवर्तनकारी नीतिको पक्षमा छौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बाध्यात्मक परिस्थितिका कारण हुन लागेको विशेष महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले यो महाधिवेशनले स्पष्ट रूपमा परिवर्तनकारी नीति र नेतृत्व सुनिश्चित गर्ने दाबी गरेका हुन्।

उनले विशेष महाधिवेशनले कांग्रेसभित्रको आन्तरिक एकतालाई अझ मजबुत बनाउँदै पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने उल्लेख गरेका छन्। नेता पौडेलले हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा रहेको स्पष्ट पार्दै यस प्रक्रियाले पार्टीलाई थप ऊर्जावान् बनाउने बताएका छन्।

कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच सहमतिका लागि वार्ता भइरहेका बेला पौडेलको यस्तो धारणा बाहिर आएको हो। हाल बालुवाटारमा दुई समूहबीच जारी विवाद समाधानका लागि सघन छलफल भइरहेको छ। विवाद टुङ्ग्याउन विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा संस्थापन पक्षले छुट्टाछुट्टै वार्ता समिति बनाएका छन्। विशेष महाधिवेशन पक्षधरका तर्फबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्यसहित नेताहरू गुरुराज घिमिरे र देवराज चालिसे वार्तामा सहभागी छन्।

अर्कोतर्फ, संस्थापन र डा. शेखर कोइराला समूहका तर्फबाट पूर्वमन्त्री बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन्। पार्टीभित्र नीतिगत र नेतृत्वदायी परिवर्तनको बहस चलिरहेका बेला यो वार्तालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष महाधिवेशनले तय गर्ने आगामी बाटो र दुई पक्षबीच हुने सम्भावित सहमतिले नेपाली कांग्रेसको भविष्यको राजनीतिक कार्यदिशा तय गर्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *