सुनको औँठीका लागि इलामको फिक्कलका ८३ वर्षीय वृद्धको बीभत्स हत्या
ललितपुर । तीन तोलाको सुनको औँठी लुट्ने लोभमा ललितपुरमा एक ८३ वर्षीय वृद्धको बीभत्स हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कल घर भई ललितपुर महानगरपालिका-१७ प्रसिद्ध टोल बस्दै आएका गर्जमान थापाको हत्यामा उनकै चिनजानका व्यक्ति संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पुस २६ गते दिउँसो २ बजेतिर घरबाट निस्किएका गर्जमान अबेरसम्म नफर्किएपछि चिन्तित बनेका आफन्तले सोही साँझ प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएका थिए । बेपत्ता भएको दुई दिनसम्म कुनै सुइँको नपाएको प्रहरीले तेस्रो दिन वृद्ध बस्ने ठाउँ नजिकैको एउटा इनारमा शंकास्पद सेतो बोराको पोको फेला पार्यो । उक्त पोको बाहिर निकालेर हेर्दा हातखुट्टा बाँधिएको र बोरामा प्याक गरिएको अवस्थामा गर्जमानको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले यो हत्या केवल सुनको औँठी लुट्ने नियतले गरिएको देखाएको छ । हत्याको आरोपमा भारतको मोतिहारी जिल्ला घर भई ललितपुरको एक प्लाइउड कारखानामा काम गर्ने २३ वर्षीय सदधाम मन्सुरसहित युसुफ अन्सारी र मोहमद नोमानलाई प्रहरीले पक्राउ गरेको छ । वृद्ध र मन्सुरबीच पहिलेदेखि नै चिनजान रहेको र घटना भएको दिन २६ पुसमा वृद्ध सधैँझैँ मन्सुर काम गर्ने कारखानामा पुगेका थिए । सोही मौकामा मदिरा पिएका मन्सुरले साँझ करिब ५ बजेतिर चक्कुले घाँटी रेटेर वृद्धको हत्या गरेको स्वीकारेका छन् ।
हत्यापछि प्रमाण लुकाउन मन्सुरले मध्यराति ११:५५ बजेतिर वृद्धको शवलाई बोरामा बाँधेर कारखानाबाट करिब २०० मिटर टाढा रहेको इनारमा फालेका थिए । प्रहरीले मृतकको साथबाट लुटिएको ३ तोलाको सुनको औँठी र हत्यामा प्रयोग भएको चक्कुसमेत बरामद गरेको छ । हाल पक्राउ परेका तीनै जनामाथि कर्तव्य ज्यानको कसुरमा थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
