पार्टी विभाजनबाट जोगाउन देउवालाई कोइरालाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई फुटबाट जोगाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। केहीबेरअघि आफूनिकटका पदाधिकारी तथा नेताहरूसहित देउवा निवास महाराजगञ्ज पुगेका कोइरालाले पार्टीको पछिल्लो सङ्कट टार्न देउवाको ध्यानाकर्षण गराएका हुन्।
भेटमा सहभागी एक नेताका अनुसार कोइरालाले कांग्रेसलाई विभाजनबाट रोक्नका लागि तत्काल आवश्यक कदम चाल्न सभापतिलाई सुझाएका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसभित्र आन्तरिक विवाद चुलिएको छ।
विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा सभापति देउवा भने महाधिवेशन प्रक्रियाप्रति असहमत देखिँदै आएका छन्। कोइरालासँगको आधा घण्टा लामो छलफलपछि पनि देउवा आफ्नो पक्षका नेता र कानुन व्यवसायीहरूसँग आन्तरिक परामर्शमै व्यस्त रहेका छन्। आइतबारबाट सुरु भएको विशेष महाधिवेशनले पार्टीभित्रको शक्ति सन्तुलनमा नयाँ बहस सिर्जना गरेको छ।
