‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नरहने हो कि भन्ने डर भयो’
काठमाडौँ | राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा एक विशेष भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। नारायणहिटी राजदरबारबाट बाहिरिएको झण्डै दुई दशक बित्दा पनि देशले सोचेको जस्तो प्रगति नगरेको र उल्टै संकटको सामना गर्नुपरेको भन्दै उनले वर्तमान राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका हुन्। उनले हिजोका दिनमा देश नबनेकोमा मात्र चिन्ता रहेकोमा अहिले आएर देशको अस्तित्व नै नरहने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्।
भिडियो सन्देशमार्फत पूर्वराजा शाहले केवल भाषण, जादू र चमत्कारले मात्रै देश बन्न नसक्ने स्पष्ट पारेका छन्। झण्डै दुई दशकअघि शान्ति र आर्थिक प्रगतिको आश्वासन दिएर सत्तामा पुगेका दलहरूको चाहनालाई सम्मान गर्दै आफूले श्रीपेच जनताको नासोका रूपमा सुरक्षित निकायमा बुझाएर राजकाजबाट बाहिरिएको उनले स्मरण गराएका छन्। तर, अहिलेको अवस्थाले राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन नसक्ने भन्दै उनले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा राजसंस्थाको भूमिका अझै सान्दर्भिक रहेको संकेत गरेका छन्।
बडामहाराजधिराज पृथ्वीनारायण शाहको योगदानको प्रशंसा गर्दै उनले आधुनिक नेपाल सबै जातजातिको साझा फूलबारी भएको र यो मुलुकमा राजा र जनताको समान स्वामित्व रहेको उल्लेख गरेका छन्। अहिलेको संकटपूर्ण घडीमा सबै नेपालीले कर्तव्यबोध गरी ‘पृथ्वीपथ’ मा लाग्नुपर्ने आह्वान गर्दै उनले राष्ट्रिय एकताको महत्त्वमा जोड दिएका छन्। पूर्वराजाको यो सन्देशले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।
