काठमाडौँमा यो वर्षकै बढी चिसो, तापक्रम २.४ डिग्री
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज शुक्रबार यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियसमा झरेको छ, जुन यो हिउँदकै न्यून रेकर्ड हो।
पुस लागेपछि देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसमविद् विनु महर्जनले बताइन्। उनका अनुसार पुस ८ गते ४.९ डिग्री रहेको काठमाडौँको तापक्रम पुस २३ र २४ गते ३ डिग्रीमा पुगेको थियो भने आज थप घटेर २.४ डिग्रीमा सीमित भएको हो। चिसो अझै बढ्न सक्ने भएकाले स्वास्थ्यको ख्याल गर्न उनले आग्रह गरिन्।
उपत्यकामा मात्र नभई देशभरकै उच्च हिमाली र पहाडी भेगमा चिसोले जनजीवन प्रभावित बनाएको छ। आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ७.७ डिग्री रेकर्ड गरिएको छ, जहाँ बिहीबार माइनस ८.१ डिग्रीसम्म झरेको थियो। त्यस्तै जोमसोममा माइनस ५ डिग्री र दोलखाको जिरीमा माइनस २.१ डिग्री तापक्रम पुगेको छ। अन्य सहरहरूमा दिपायलको १.४, डडेलधुराको १.५, वीरेन्द्रनगरको २.५ र ताप्लेजुङको ३.९ डिग्री न्यूनतम तापक्रम रहेको विभागले जनाएको छ।
हाल नेपालमा पश्चिमी वायु र दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहे पनि अन्य पहाडी तथा हिमाली भूभागमा मौसम सफा रहेको छ।
तराईका भूभागमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटनका साथै हवाई तथा सडक यातायातमा समेत असर पर्न सक्ने देखिएको छ। विभागले चिसो र कुहिरोबाट जोगिन आवश्यक सावधानी अपनाउन र महाशाखाबाट जारी हुने दैनिक मौसमी सूचनामा ध्यान दिन सबैलाई अनुरोध गरेको छ।
