सामाजिक सञ्जालमा उम्मेदवारी  प्रचार गर्न रास्वपाको रोक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार हुन चाहने आकाङ्क्षीहरूलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा र प्रचारप्रसार गर्न रोक लगाएको छ। पार्टीको उम्मेदवार छनोट सिफारिस उपसमितिले बिहीबार एक सूचना जारी गर्दै आचारसंहिता पालना गर्न निर्देशन दिएको हो।

रास्वपाका अनुसार प्रत्यक्षतर्फका केही आकाङ्क्षीहरूले पार्टीबाट औपचारिक उम्मेदवार तय नहुँदै सामाजिक सञ्जालमा आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गरी प्रचारप्रसार सुरु गरेका थिए। यस्तो गतिविधिले अन्य सम्भावित र बाँकी आकाङ्क्षी सदस्यहरूलाई निरुत्साहित गर्ने र पार्टीको आन्तरिक लोकतन्त्रमा असर पार्ने देखिएकाले तत्काल रोक लगाइएको हो।

यसअघि नै सामाजिक सञ्जालमा राखिएका उम्मेदवारी घोषणा वा प्रचारसम्बन्धी सामग्रीहरू तत्काल हटाउन निर्देशन दिइएको छ।  उम्मेदवारीका लागि आवेदन दिने सदस्यले आफ्नो आकाङ्क्षा व्यक्त गर्नका लागि सादा फोटोसहित वा फोटोविना एक पटक मात्र सामाजिक सञ्जालमा पोस्ट गर्न पाउनेछन्।

प्राइमरी निर्वाचन पछि मात्र प्रचार: प्राइमरी निर्वाचनमा सहभागी हुनेहरूले त्यससम्बन्धी औपचारिक सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिताको परिधिभित्र रही भद्र र मर्यादित तरिकाले प्रचारप्रसार गर्न पाउनेछन्।

आगामी फागुन २१ का लागि तय भएको निर्वाचनका लागि रास्वपाले ‘प्राइमरी निर्वाचन’ मार्फत उम्मेदवार छनोट गर्ने प्रक्रिया अघि बढाएको छ। पार्टीले भर्खरै समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ, जसमा रमेश प्रसाईं, अभिषेक सिंह र रीमा विश्वकर्मा जस्ता नामहरू समावेश छन्। सभापति रवि लामिछानेले टिकट वितरण विधि र प्रक्रियाले मात्र तय गर्ने भएकाले जथाभावी प्रचार नगर्न नेता-कार्यकर्तालाई सचेत गराएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *