ऊर्जा मन्त्री कुलमान घिसिङद्वारा राजीनामा
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन्। भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएको भन्दै जनस्तरबाट आलोचना भएपछि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा घिसिङसहितका मन्त्रीहरूसँग राजीनामा माग गरेकी थिइन्। प्रधानमन्त्रीले मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्ताको नामै तोकेर राजीनामा मागेपछि घिसिङले पद त्याग्ने निर्णय गरेका हुन्।
घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए। उनी अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक रहेका थिए भने हालै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकीकरणपछि सो पार्टीको वरिष्ठ उपसभापति बनेका छन्। राजीनामा बुझाएपछि मन्त्री घिसिङले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री कार्कीले चुनावी निष्पक्षता कायम राख्नका लागि दलीय ओहोदामा रहेका मन्त्रीहरूलाई मार्गप्रशस्त गर्न निर्देशन दिएसँगै नागरिक सरकारमा अन्य मन्त्रीहरूको पदबारे पनि चासो बढेको छ।

