शङ्खरापुर बस दुर्घटना अपडेट: ४ जनाको मृत्यु, २७ जना घाइते

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका-३ स्थित लप्सेफेदीको जङ्गलमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन्।

साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो। ‘नेचर हब’ नामक संस्थाका कर्मचारीहरू पिकनिक खाएर फर्कने क्रममा बस सडकबाट तल खसेको हो। मृतकहरूमध्ये स्तुपा अस्पताल, नेपाल मेडिकल कलेज र शङ्खरापुर अस्पतालमा एक-एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का एक जनाको पनि अस्पतालमै ज्यान गएको हो।

घाइतेको अवस्था र उपचार दुर्घटनामा अन्य २७ जना घाइते भएका छन्, जसमा ११ पुरुष र १६ महिला रहेका छन्। घाइतेहरूमध्ये एक महिलाको अवस्था अत्यन्त गम्भीर रहेको र उनको शङ्खरापुर अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरूको काठमाडौँका विभिन्न ८ वटा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार अर्थोपेडिक अस्पताल, शङ्खरापुर अस्पताल, नेपाल मेडिकल कलेज, स्तुपा अस्पताल, टिचिङ अस्पताल, मूलपानी नगर अस्पताल, सुष्मा कोइराला मेमोरियल र पिपुल्स लाइफ केयर अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ।

उद्धार टोलीले घाइतेहरूलाई तत्काल विभिन्न अस्पताल पुर्‍याएको थियो। बस सडकबाट तल खसेर रुखमा अड्किएका कारण उद्धार कार्यमा केही समय लागेको थियो। दुर्घटनाको थप विवरण र मृतकहरूको पहिचान खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *