पिकनिकबाट फर्किएको बस खसेर रुखमा अड्किएपछि…
काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित लप्सेफेदीको जङ्गलमा महानगर यातायातको बस दुर्घटना भएको छ। स्थानीय ढोल्बु सामुदायिक वन नजिकै बा ४ ख ८७८८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेर रुखमा अड्किएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार बसमा ‘नेचर हब’ कम्पनीमा आबद्ध करिब ४० जना कर्मचारी तथा यात्रुहरू सवार थिए। पिकनिक मनाएर फर्किँदै गरेको उक्त बस दुर्घटनामा परेको हो।
उद्धार र घाइतेको अवस्था दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ। अन्य घाइतेहरूको पनि शङ्खरापुरस्थित पिपुल्स अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज र साँखुको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी र स्थानीय बासिन्दाले घाइतेहरूको उद्धार गरी एम्बुलेन्स मार्फत अस्पताल पुर्याएका थिए। बस रुखमा अड्किएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको अनुमान गरिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
