रास्वपाको समानुपातिक सूचीबाट १२ जनाले लिए नाम फिर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवारहरूको सङ्ख्या १२ पुगेको छ। पछिल्लो पटक डा. रामजी रामले पनि सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेसँगै यो सङ्ख्या बढेको हो।

यसअघि डा. अरनिको पाँडे, मोहना अन्सारी, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली, साजन विक र सुदेश गुरुङले नाम फिर्ता लिने घोषणा गरिसकेका छन्। रास्वपा प्रवक्ता मनिष झाका अनुसार मोहना अन्सारीले नाम पहिलो नम्बरमा नभएका कारण र साजन विकले भक्तपुर-२ बाट प्रत्यक्ष चुनाव लड्ने इच्छाका कारण नाम फिर्ता लिन चाहेका हुन्।

निर्वाचन आयोगको प्रक्रिया के छ?

निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा गर्ने घोषणा ‘सार्वजनिक खपत’ का लागि मात्र हो। आधिकारिक रूपमा नाम फिर्ता लिन उम्मेदवार स्वयं आयोगमा उपस्थित भएर निवेदन दिनुपर्ने हुन्छ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार अहिले पुस २७ गतेसम्म दलहरूले बुझाएको सूचीमा क्लस्टर लगायतका त्रुटि सच्याउने समय रहेको छ। उम्मेदवारी फिर्ताको प्रक्रिया त्यसपछि मात्र सुरु हुनेछ।

पुस २८ गते: बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले निवेदन दिने समय।

पुस २९ गते: नाम फिर्ता लिएको जानकारी आयोगले सम्बन्धित दललाई दिने।

पुस ३० गते: रिक्त स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गरी नाम पठाउने।

माघ ४ गते: उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन।

माघ ५–१० गते: उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्ने समय।

माघ २० गते: उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुने।

आयोगको यो कार्यतालिका अनुसार माघ २० पछि मात्र समानुपातिक उम्मेदवारहरूको आधिकारिक र अन्तिम सूची सार्वजनिक हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *