कोशी प्रदेशबाट राष्ट्रिय सभामा सुनिल थापा निर्विरोध निर्वाचित
विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। २३ पुसमा भएको मनोनयन दर्ताका क्रममा थापाले उम्मेदवारी दिएको ‘अन्य’ क्लस्टरमा अरू कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृत भीष्मराज प्रसाईँका अनुसार, उक्त क्लस्टरमा थापाको मात्र एकल उम्मेदवारी कायम भएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ‘अन्य’ समूहका लागि हेमराज घिमिरेलाई उम्मेदवार तय गरे पनि उनी समयमा मनोनयन दर्ताका लागि उपस्थित नभएपछि थापाको बाटो खुला भएको हो।
थापा निर्विरोध भए पनि यसको औपचारिक घोषणा भने निर्वाचन कार्यतालिका अनुसार आगामी पुस २७ गते गरिनेछ। बाँकी रहेका महिला र दलित क्लस्टरका लागि भने माघ ११ गते निर्वाचन हुनेछ।
प्रतिक्रिया
