रास्वपाको निर्णय: बालेन शाहसहित २६ जना केन्द्रीय सदस्य मनोनीत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले मेयर शाहसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता मनिष झाका अनुसार आइतबारको बैठकले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई समेट्दै केन्द्रीय समितिको आकार विस्तार गरेको हो। यसअघि आजै दिउँसो बसेको बैठकले विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो। त्यसलगत्तै पुनः बसेको अर्को बैठकले मेयर बालेन शाहसहित अन्य नयाँ सदस्यहरूलाई अनुमोदन गरेको हो।
यसैगरी, रास्वपाले पार्टीको सांगठनिक संरचनालाई बलियो बनाउन ४ जना पदाधिकारीको संख्या थप गर्ने निर्णय समेत गरेको छ। मेयर बालेन शाहको मनोनयनसँगै रास्वपा र स्वतन्त्र अभियानहरूबीचको सम्बन्धमा नयाँ मोड आउने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
