चिसो बढ्यो: विशेष सतर्कता अपनाउन
प्रतीकात्मक तस्बिर
काठमाडौँ । देशभर अत्यधिक चिसो बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। चिसोका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै मन्त्रालयले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जाडोयाममा शीतलहर र हिमपातका कारण रुघाखोकी, ज्वरो, दम र हाइपोथर्मिया जस्ता समस्या बढ्ने जोखिम रहन्छ। विशेषगरी बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरू चिसोको उच्च जोखिममा हुने भएकाले उनीहरूको विशेष ख्याल गर्नुपर्ने मन्त्रालयले जनाएको छ। साथै, पछिल्लो समय बढ्दो वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कमा समेत गम्भीर असर पार्न सक्ने चेतावनी दिइएको छ।
चिसोबाट बच्न मन्त्रालयले न्यानो लुगा लगाउन, सन्तुलित आहार र झोलिलो पदार्थ खान तथा धुवाँधुलोबाट बच्न सुझाव दिएको छ। स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा जान वा ‘हेलो स्वास्थ्य’ को टोल फ्री नम्बर १११५ मा सम्पर्क गरी परामर्श लिन समेत अनुरोध गरिएको छ।
