भदौ २३-२४ घटना : लेखकको बयान सकियो, अब ओलीको पालो

काठमाडौँ । २३ र २४ भदौमा घटेका घटनाहरूको अनुसन्धान गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ।

बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई बयानका लागि चिठी काट्न लागिएको जानकारी दिए। अध्यक्ष कार्कीले भने, ‘ओलीजीलाई बोलाउने क्रममा छौँ। उहाँलाई हामी चिठी काट्दैछौँ, आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ।’

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँगको बयान सकिसकेको छ। अब तत्कालीन प्रधानमन्त्री ओलीको मात्र बयान बाँकी रहेको र उनलाई करिब एक साताको समय दिएर बोलाइने योजना छ। ओलीका लागि सोधिने प्रश्नपत्र समेत तयार भइसकेको आयोगले जनाएको छ।

आयोगको कार्यकाल एक महिना थप गरिएको छ। थपिएको समयभित्रै प्रतिवेदन बुझाउने अध्यक्ष कार्कीको भनाइ छ। आयोगले यसअघि तत्कालीन मुख्यसचिव एकनारायण अर्याल, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल, र तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग बयान लिइसकेको छ।

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा ५ असोजमा यो आयोग गठन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *