प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। कुश्मा नगरपालिका–७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी राज्यलाई हानि नोक्सानी पुर्‍याएको आरोपमा उनीहरूविरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो।

आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारको विशेष अनुदान अन्तर्गत विनियोजित बजेटबाट भवन निर्माणका लागि ‘मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स’ सँग सम्झौता भएको थियो। तर, निर्माण व्यवसायीले काम अलपत्र पारेपछि ठेक्का तोडिएको थियो। ठेक्का तोडिएपछि असुल गर्नुपर्ने पेस्की रकम र त्यसको ब्याज असुल नगरी, बैंक जमानतको म्याद समेत गुजि्रन दिई कर्मचारी र ठेकेदारको मिलेमतोमा राज्यलाई नोक्सान पुर्‍याएको अख्तियारको ठहर छ।

आयोगले प्रतिवादीहरूलाई निम्न अनुसारको बिगो कायम गरी सजायको माग गरेको छ:

कुमान सिंह गुरुङ (तत्कालीन प्रमुख प्रशासकीय अधिकृत): रु. १ करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ ८६ पैसा।

लाल बहादुर मल्ल (निर्माण व्यवसायी): रु. १ करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ ८६ पैसा।

आशिष शाक्य (तत्कालीन इन्जिनियर): रु. ९६ लाख ४१ हजार ८७४ रुपैयाँ ८८ पैसा।

कृष्ण प्रसाद शर्मा (तत्कालीन लेखा अधिकृत): रु. १७ लाख २ हजार ३४१ रुपैयाँ ९८ पैसा।

पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लगाउँदा राज्यलाई थप व्ययभार परेको र पेस्की रकम समेत डुबेको आयोगले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *