बाक्लो हुस्सु कहिलेसम्म ?

विराटनगर। देशभर पश्चिमी वायुको आंशिक प्रभाव परेसँगै कोशी प्रदेशको तराई क्षेत्र लगायत देशभरको मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार बिहानैदेखि तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ।

हुस्सु र कुहिरोको यो अवस्था दिउँसो र राति पनि कायम रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। रातिको समयमा पनि यी प्रदेशका उच्च हिमाली भेगमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

बाक्लो हुस्सु र कुहिरोका कारण दृश्यात्मकता कम हुँदा सडक तथा हवाई यातायात, स्वास्थ्य र दैनिक जनजीवनमा आंशिक असर पर्न सक्ने देखिएको छ। चिसो बढ्ने र यातायातमा अवरोध आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।

यसैबीच, मंसिर १६ देखि हिउँदे अवधि सुरु भए पनि कतै वर्षा हुन नसकेको मौसमविद् धरमराज उप्रेतीले बताएका छन्। वर्षा नहुँदा हिउँदे खेतीपाती प्रभावित भएको साथै वायुमण्डल मा प्रदूषणको मात्रा बढाएको उनको भनाइ छ।

बुधबार रातिदेखि पाकिस्तान अनि भारतको जम्मुकाश्मिर हुँदै नेपालको हिमाली क्षेत्रमा प्रवेश गर्ने पश्चिमी वायुको प्रभाव देखिने छ। यो प्रणालीले भने पहाडी र हिमाली क्षेत्रमा शुक्रबार हल्का वर्षा र हिमपातको सम्भावना देखिएको उप्रेतीले बताए।

तराईमा भने वर्षाको सम्भावना कम छ। पश्चिम वायुले हुस्सु कुहिरोलाई धकेल्ने भएकाले बिहीबारदेखि केही कम हुने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *