कुखुरा र स्याल मिलेर बाघको सिकार हुँदैन : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक विचार गोष्ठीमा बोल्दै ओलीले एमालेको विशाल शक्ति देखेर अत्तालिएकाहरूले मोर्चाबन्दी गरिरहेको टिप्पणी गरे ।

ओलीले बलियासँग लड्न नसक्ने दुब्लाहरूले मात्र एकताको सहारा लिने तर्क गरे । विपक्षी गठबन्धनलाई कटाक्ष गर्दै उनले भने, ‘विशाल एमाले देखेपछि तिमी र म मिलौं भन्या छ । कुखुरा र बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघ र सिंहको सिकार हुन्छ र ? प्रतिस्पर्धा हुन्छ र ? दुब्लाको काम नै मोर्चा गर्ने हो ।’ उनले यस्ता एकताहरू राति र भोलि पनि भइरहने तर त्यसले एमालेलाई केही फरक नपार्ने दाबी गरे ।

चुनाव आउनु अगावै प्रधानमन्त्री छानिसकिएको भन्दै ओलीले यसको जवाफ निर्वाचनबाट दिने चेतावनी दिए । ‘मान्छेले प्रधानमन्त्री बनाइसके, हामी चुनाव पर्खिरहेका छौं,’ उनले भने, ‘फागुनमा होला, वैशाखमा होला वा अर्को मंसिरमा, हामी पर्खिरहेका छौं । देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनले नै समाप्त पारिदिन्छ ।’

उनले एमालेको महाधिवेशनले धेरै प्रश्नको जवाफ दिइसकेको र अबको निर्वाचनबाट ‘राष्ट्रिय फैसला’ आउने समेत दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *