काठमाडौँको तापक्रम वर्षकै कम, जुम्लामा माइनस ३ डिग्री
काठमाडौँ । पछिल्ला दिनमा चिसो बढ्दो क्रममा छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् ।हिमाली क्षेत्रमा हिमपात जारी छ ।
काठमाडौँ उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ । सोही क्रममा काठमाडौँको तापक्रम आज मंगलबार यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ ।
हिजो छ दशमलव आठ न्यूनतम तापक्रम रहेकामा आज घटेर चार दशमलव नौ डिग्रीमा झरेको छ । यो अभिलेख काठमाडौँको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको उनले बताए । गत मङ्सिर २८ गते काठमाडौँको न्यूनतम तापक्रम पाँच डिग्रीमा झरेको थियो ।
उनका अनुसार आज देशको तराईका धेरै क्षेत्रमै बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ । हिमाली क्षेत्रमा मौसम सफा रहेको छ । पानी र हिमपात बढी हुने सम्भावना नरहेको उनले बताए । मौसमविद् दाहालले भने, ‘तराइको यो मौसम हुस्सु र कुहिरो लाग्ने नै समय हो, मुख्यगरी पानी पर्ने प्रणाली छैन, पश्चिमी वायु सक्रिय हुन सकेको छैन, राम्ररी पानी नपर्नाले हुस्सु कुहिरो बढ्न थालेको छ ।’ आज सबैभन्दा कम जुम्लामा माइनस तीन डिग्री छ । (रासस)
