बयान दिन्नँ, बरु गोली खान तयार छु : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै पनि हालतमा बयान नदिने अडान लिएका छन्। आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीसँग बयान लिने तयारी गरिरहेको चर्चाका बीच उनले आफू त्यसका लागि तयार नरहेको स्पष्ट पारेका हुन्।

एमाले अध्यक्षमा तेस्रोपटक निर्वाचित भएपछि ‘हिमालय टिभी’ को कार्यक्रम ‘यक्ष प्रश्न’ मा पत्रकार निमेष बन्जाडेसँग कुरा गर्दै ओलीले बरु आफू जेल जान वा गोली खान तयार रहेको तर बयान नदिने उल्लेख गरे। सरकार पक्षबाट ‘जसरी पनि बयानका लागि ल्याउँछौँ’ भन्ने भाषा आइरहेको सन्दर्भमा ओलीले कडा टिप्पणी गरे। ‘बयान दिन मानेन भने गोली ठोके हुन्छ नि, उहाँहरूसँग बन्दुक छ त,’ ओलीले व्यङ्ग्य गर्दै भने, ‘भएन भने बयान नगरेबापत आजीवन थुन्दिने।’

ओलीले जाँचबुझ आयोगले नतिजा पहिले नै निकालिसकेको आरोप लगाउँदै नतिजा आइसकेपछि फेरि जाँच दिनुको अर्थ नरहेको बताए। उनले बयान दिनु व्यक्तिको स्वेच्छाको कुरा भएको तर्क गर्दै आयोगका सदस्यहरू आफ्नै घरमा आएमा चिया खुवाएर पठाउने तर औपचारिक बयान नदिने अडान दोहोर्‍याए। ‘मैले कतिपल्ट भन्नु, बयान दिनुपर्ने छैन। तपाईंले रिजल्ट निकालिसक्नुभयो, फेरि जाँच म किन दिने?’ ओलीको प्रश्न थियो।

पार्टीको नेतृत्व पुनः सम्हालेपछि सार्वजनिक भएको ओलीको यो पछिल्लो अभिव्यक्तिले सरकार र एमाले बीचको सम्बन्ध थप पेचिलो बन्ने संकेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *