रिहा भए रवि लामिछाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएका छन् । उच्च अदालत बुटवलको बिहीबारको आदेशपछि कागजी प्रक्रिया पूरा गरेर उनी शुक्रबार रिहा भएका हुन् ।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएपछि रिहाइको प्रक्रिया टुङ्गिएको हो । उच्च अदालतले जिल्ला अदालतको यसअघिको आदेश बदर गर्दै बिगो बराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।
तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई रिहा गर्ने फैसला सुनाएको हो । सोही आदेशको आधारमा उनी शुक्रबार रुपन्देही पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागारबाट छुटेका छन् ।
‘न्यायको लडाइँ अझै बाँकी’
यसैबीच, थुनामुक्त भएपछि लामिछानेले आफ्नो न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन्। समर्थकहरूलाई सम्बोधन गर्दै उनले आफूमाथि भएको अन्यायलाई देशमाथि भएको अन्यायको तुलनामा सानो भएको टिप्पणी गरे।
उनले अहिले विस्तृतमा बोल्ने समय नभएको भन्दै भविष्यमा सबै कुराको हिसाबकिताब गरिने चेतावनी समेत दिए। ‘मैले अझ धेरै लड्नु छ, तर यो लडाइँ मेरो लागि मात्र नभएर देशको न्यायका लागि हो,’ लामिछानेले भने, ‘यिनीहरूले देशमाथि गरेको अन्यायको अगाडि ममाथि भएको अन्याय केही पनि होइन, सबैको हिसाब मिलान बाँकी नै छ।’
