ज्योतिषाचार्य खतिवडाद्वारा सप्तमाई गुरुकुलका विद्यार्थीलाई झोला र यजुर्वेद
इलाम । चर्चित ज्योतिषाचार्य एवम् मातृभूमि फाउण्डेसनका संरक्षक धर्मगुरु पुष्कर खतिवडाले सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेका छन्।
विद्यालय परिसरमा बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच गुरु खतिवडाले विद्यार्थीहरूलाई विद्यालय झोला र धार्मिक ग्रन्थ वितरण गरे। विद्यालयका शुभचिन्तक नारायण पौड्यालको विशेष पहलमा उक्त सहयोग प्राप्त भएको गुरुकुलले जनाएको छ।
विद्यालयका अनुसार विद्यार्थीहरूको शैक्षिक सहजताका लागि ८०९० वटा झोला र शुक्लयजुर्वेद पुस्तक ४१ थान प्रदान गरिएको हो।
कार्यक्रममा सप्तमाई गुरुकुल अध्ययन अनुसन्धान केन्द्रका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक, अभिभावक संघका प्रतिनिधि तथा अभिभावकहरूको उपस्थिति थियो।
सामग्री हस्तान्तरण गर्दै खतिवडाले संस्कृत शिक्षाको जगेर्नाका लागि आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय परिवारले यो परोपकारी कार्यका निम्ति गुरु खतिवडालाई धन्यवाद ज्ञापन गरेको छ। यो सहयोगलाई विद्यालयले सदैव स्मरण गरिरहने विद्यालय प्रशासनले जनाएको छ।
