रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
फाइल तस्बिर
काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले यसअघि थुनामै राख्न आदेश दिएको थियो।
जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेलाई रिहा गर्न अस्वीकार गरेपछि उनी त्यसविरुद्ध भदौ ९ गते उच्च अदालत पुगेका थिए। उनले सहकारीमा अपचलन भएको भनिएको आफ्नो भागको बिगो रकम बुझाउँदा पनि जिल्लाले रिहा नगरेको जिकिर गर्दै निवेदन दिएका थिए। उच्च अदालतको यो आदेशसँगै अब उनी तोकिएको धरौटी बुझाएर थुनामुक्त हुने बाटो खुलेको छ।
