पाथीभरामा भेटी : एकै महिनामा साढे ७५ लाख रुपैयाँ
तस्बिरः राजेन्द्र महत
ताप्लेजुङ । प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभरा मन्दिरमा यस वर्षको मंसिर महिनामा मात्रै ७५ लाख ४९ हजार रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार अघिल्लो वर्षको तुलनामा यसपटक तीर्थयात्रीको संख्या केही घटे पनि भेटी संकलनमा भने उल्लेख्य वृद्धि देखिएको छ।
गत वर्षको मंसिरमा २१ हजारभन्दा बढी तीर्थयात्रीले दर्शन गर्दा ४१ लाख १७ हजार रुपैयाँ संकलन भएको थियो। यस वर्ष भने १९ हजार १ सय ८१ जना दर्शनार्थी आउँदा गत वर्षको तुलनामा करिब ३५ लाख रुपैयाँ बढी भेटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। संकलित उक्त रकम आठ किस्तामा विभाजन गरी नेपाल बैंक लिमिटेडमा रहेको समितिको खातामा जम्मा गरिएको छ।
संकलनदेखि बैंकसम्मको प्रक्रिया पाथीभरा मन्दिरमा चढाइएको भेटी संकलन गर्ने छुट्टै प्रक्रिया छ। मन्दिर परिसरमा संकलित पैसा कर्मचारीहरूले जम्मा गरी सुरुमा माथिल्लो फेदीस्थित अस्थायी प्रहरी चौकीमा ल्याएर राख्छन्। त्यहाँबाट काफ्लेपाटीसम्म मानिसले नै बोकेर ल्याउने र काफ्लेपाटीबाट सदरमुकाम फुङलिङसम्म गाडीमा ढुवानी गरी ल्याउने गरिन्छ।
जिल्ला समन्वय समितिमा रहेको क्षेत्र विकास समितिको कार्यालयमा सुरक्षाकर्मी र सरोकारवालाको रोहबरमा भेटी गणना गरिन्छ। गणना कार्य सकिएपछि अनुकूलता हेरी बैंकमा जम्मा गर्ने गरिन्छ। मन्दिरमा नगद भेटीका अतिरिक्त सुनचाँदी जस्ता धातुहरू पनि चढाइने गरिन्छ। यसको छुट्टै अभिलेख राख्ने व्यवस्था छ।
