मन परेकी युवतीसँग बिहे गर्न नपाउँदा…
विराटनगर। एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कुन हदसम्म गिराउन सक्छ भन्ने एउटा फिल्मी शैलीको घटना मोरङको धनपालथानमा सार्वजनिक भएको छ। मन पराएकी युवतीले अर्कैसँग विवाह गरेपछि ती युवतीका बुबा (ससुरा) र श्रीमान् (ज्वाइँ) दुवैलाई लागुऔषध मुद्दामा फसाउन रचिएको एउटा भयानक षड्यन्त्रको पर्दाफास प्रहरीले गरेको छ।
धनपालथान गाउँपालिका-२ का २९ वर्षीय राजिव चौधरीको विवाह भएको मुस्किलले १०-१२ दिन मात्र भएको थियो। मंसिर २७ गते उनी कामको सिलसिलामा कर्सिया बजार पुगेका थिए। सिटिजन बैंक अगाडि आफ्नो मोटरसाइकल पार्किङ गरेर काममा व्यस्त रहेकै बेला एकाएक प्रहरी टोली आइपुग्यो र उनको मोटरसाइकल खानतलासी गर्न थाल्यो।
प्रहरीले मोटरसाइकलको ‘इन्डिकेटर’ भित्र लुकाइएको अवस्थामा १३.३१० ग्राम ब्राउन सुगर फेला पार्यो। आफ्नो मोटरसाइकलमा लागुऔषध भेटिएपछि राजिव अवाक बने।
प्रहरीले सोधपुछ गर्दा राजिवले इन्कार गरिरहे। तर प्रमाण फेला परेपछि उनी तनावमा परे। तनाव यतिसम्म बढ्यो कि उनलाई ‘हार्ट अट्याक’ जस्तै लक्षण देखिएपछि तत्काल अस्पताल भर्ना गर्नु पर्यो। मोरङका प्रहरी उपरीक्षक कबित कटवालका अनुसार, राजिवको हाउभाउ लागुऔषध कारोबारीको जस्तो कत्ति पनि थिएन, जसले प्रहरीलाई घटनाबारे गहिरिएर सोच्न बाध्य बनायो।
अनुसन्धानका क्रममा एउटा रोचक तथ्य खुल्यो। यसअघि २०८२ वैशाख २० गते पनि ठ्याक्कै यसै गरी चन्द्रशेखर मण्डलको मोटरसाइकलमा २.९५० ग्राम ब्राउन सुगर भेटिएको थियो। केही दिन हिरासत बसेर ल्याब रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका थिए।
जब प्रहरीले राजिवलाई चन्द्रशेखरबारे सोध्यो, उनले ‘उहाँ मेरो ससुरा हुनुहुन्छ’ भन्ने जवाफ दिए। ज्वाइँ र ससुरा दुवैलाई उस्तै प्रकृतिको घटनामा फसाउन खोजिएको देखेपछि प्रहरीले सूचना दिने व्यक्ति (सुराकी) को खोजी सुरु गर्यो।
प्रहरीले सूचना दिने विराटनगर-९ का २७ वर्षीय राजा खान धोबीलाई पक्राउ गरेपछि घटनाको रहस्य खुल्यो। उनलाई धनपालथान-७ का विशालकुमार सिंहले १० हजार रुपैयाँको प्रलोभन देखाएर प्रहरीलाई खबर गर्न लगाएका रहेछन्।
मुख्य योजनाकार विशाल सिंहको बयान अनुसार, विशाल ती युवतीलाई मन पराउँथे र विवाहको प्रस्ताव लिएर घर पुगेका थिए। युवती र परिवार राजी नभएपछि उनले पहिलो पटक वैशाखमा युवतीका बुबा (ससुरा) लाई फसाउने प्रयास गरे। त्यसमा असफल भएपछि मंसिरमा युवतीको विवाह भयो। त्यसको बदला लिन उनले नवविवाहित श्रीमान् (राजिव) लाई निशाना बनाए। विशालले आफ्ना साथीहरू रोशन मण्डल, पारस मण्डल र राजा खान धोबीलाई प्रयोग गरेर यो योजना बुनेका थिए।
प्रहरीले विशाललाई पक्राउ गर्न खोज्दा उनी भागेका थिए, तर २ किलोमिटर लखेटेर उनलाई नियन्त्रणमा लिइयो। एसपी कटवाल भन्छन्, “यदि हामीले सतही अनुसन्धान मात्र गरेको भए एक निर्दोष व्यक्ति जेल जाने थियो। १६-१७ घण्टाको निरन्तर अपरेसनले ‘फेक केस’ को पर्दाफास भयो।”
प्रहरीले निर्दोष देखिएका राजिव चौधरीलाई सम्मानपूर्वक छाडिदिएको छ। षड्यन्त्र रच्ने मुख्य योजनाकार विशालकुमार सिंहसहित उनका तीनै जना सहयोगीहरू (रोशन, पारस र राजा) अहिले प्रहरी हिरासतमा छन् र उनीहरूमाथि कानुनी कारबाही अगाडि बढाइएको छ।
