कोशीमा सडक दुर्घटनाको भयावह चित्र : महिनामै ३२ को मृत्यु
फाइल तस्बिर
विराटनगर। कोशी प्रदेशमा सडक दुर्घटनाको स्थिति चिन्ताजनक देखिएको छ। ट्राफिक प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार सडकमा हुने अधिकांश दुर्घटनाको मुख्य कारण चालकको लापरबाही पाइएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार, मंसिरमा मात्रै प्रदेशका १४ जिल्लामा ५ सय ८१ वटा सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन्। ९ सय ७९ जना घाइते भएका छन्।
प्रहरीको विश्लेषणले दुर्घटनाको डरलाग्दो तथ्य बाहिर ल्याएको छ। कुल दुर्घटनामध्ये ८० प्रतिशत दुर्घटना चालककै लापरबाहीले भएका हुन्। त्यसमा पनि तीव्र गतिका कारण मात्रै ४२.५ प्रतिशत दुर्घटना भएको डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।
तथ्याङ्क अनुसार अन्य कारण यस्ता छन्
चालकको असक्षमताः १६.५ प्रतिशत
ट्राफिक नियम उल्लंघनः १०.३ प्रतिशत
मापसे (मदिरा सेवन): ७.२ प्रतिशत
सडकको दुरावस्थाः ५.३ प्रतिशत
यात्रुको गल्तीः ९.५ प्रतिशत
दुर्घटना बढेसँगै ट्राफिक प्रहरीले सडकमा कडाइ गरेको छ। मंसिरमा मात्रै नियम मिच्ने ८ हजार ३ सयभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन्। यसबाट ८४ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
यस क्रममा प्रहरीले ५ सय ६९ वटा ‘प्रेशर हर्न’ हटाएको छ भने १ हजार ५ सयभन्दा बढी सार्वजनिक यातायातमा भाडादर टाँस्न लगाएको छ। स्वरुप परिवर्तन गरिएका मोटरसाइकलमाथि पनि निगरानी बढाइएको प्रदेश ट्राफिक प्रमुख एसपी दीपक गिरीले बताए।
