पुस लागेसँगै देशभर बढ्यो चिसो

काठमाडौँ। पुस महिना सुरु भएसँगै काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम निरन्तर घट्दो क्रममा छ। यसको प्रत्यक्ष असर बिहान र बेलुकाको समयमा देखिएको छ।

काठमाडौँ उपत्यकामा चिसो बढेको महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मंगलबार बिहान गरिएको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ। यसैगरी, दिनको अधिकतम तापक्रम भने १९ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

उपत्यका बाहिरका जिल्लाहरूमा पनि तापक्रम घट्दै गएको छ। दिउँसो अधिकांश स्थानमा घाम लागे पनि बिहान, बेलुका चिसोपना बढेको छ। चिसो बढेपछि जनजीवनमा परिवर्तन आएको छ। बिहानको समयमा विभिन्न काम तथा अध्ययनका लागि निस्कने मानिसहरूले बाक्लो र न्यानो कपडा लगाउन सुरु गरिसकेका छन्।

कतिपय ठाउँमा मानिसहरूले चिसोबाट बच्नका लागि आगो ताप्ने काम पनि सुरु गरिसकेको अवस्था छ।

विशेष गरी बिहानको समयमा विद्यालय, कलेज जाने विद्यार्थी तथा दैनिक काममा संलग्न मानिसहरू जाडोयाम सुरु भएसँगै बढी प्रभावित भएका छन्। मौसम विभागले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *