शिक्षाका लागि ४ महिनामै ४२ अर्ब ९६ करोड रुपैयाँ विदेशियो

काठमाडौँ। देशभित्र प्रशस्त विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि गुणस्तरीय शिक्षाका लागि हरेक वर्ष ठूलो धनराशि विदेशिने क्रम जारी छ। शैक्षिक कामका लागि मात्रै देशबाट अर्बौं रुपैयाँ बाहिरिनुले शिक्षा क्षेत्रको पुँजी पलायनको अवस्था स्पष्ट पारेको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) को तथ्याङ्क सार्वजनिक गर्दै शिक्षातर्फको व्यय अत्यधिक बढेको देखाएको छ।

यस अवधिमा शिक्षाका लागि ४२ अर्ब ९६ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ। अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड रुपैयाँ मात्र थियो।

अघिल्लो आवको तुलनामा चालु आवको चार महिनामा करिब १० अर्ब रुपैयाँ भन्दा बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ।

शिक्षाबाहेक अन्य सेवा खातामा पनि रकमको बहाव बढेको छ। भ्रमण व्ययमा उछाल: समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले बढेर ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो खर्च ५५ अर्ब ४९ करोड रुपैयाँ थियो।

भ्रमण आयमा सुधार: यसैबीच, समीक्षा अवधिमा भ्रमण आय भने आठ दशमलव एक प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो।

शिक्षा, भ्रमण लगायत अन्य सेवा खर्च बढेपछि देशको खुद सेवा आय घाटा पनि चुलिएको छ। समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब एक करोड रुपैयाँले घाटामा रहेको थियो। यसले देशको सेवा व्यापार घाटा निरन्तर बढ्दै गएको देखाउँछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *