खरानीको भाष्य चिर्दै ‘अजम्बरी’ दाबी: ‘फेरि उठ्ने’ !
एमालेले ११ औं महाधिवेशनलाई जनसभामा बदल्दै ‘फेरि उठ्ने’ सन्देश किन दियो? के यो पराजयको स्वीकारोक्ति हो या शक्ति प्रदर्शनको हताश प्रयास?
काठमाडौँ। देशव्यापी रूपमा आफ्नो सान्दर्भिकतामाथि प्रश्न उठिरहेका बेला, नेकपा एमालेले सल्लाघारीको जनप्रदर्शनलाई एक ‘राजनीतिक शल्यक्रिया’ का रूपमा प्रयोग गर्यो। अध्यक्ष केपी शर्मा ओलीले ‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहार’ चिरेर एमाले ‘अजम्बरी’ छ भन्दै घोषणा गरे। तर, यो उद्घोष आत्मविश्वासको पराकाष्ठा हो वा भुइँचालोबाट जोगिन गरिएको राजनीतिक हल्लाखल्ला?
‘माटोमा मिलेको’ स्वीकारोक्ति: ओठे हाँसोसहितको सत्य
‘फेरि उठ्ने छौं’ भन्ने वाक्यांश स्वयंमा एउटा ओठे हाँसोसहितको स्वीकारोक्ति हो। कोही पनि मानिस या संस्था तब मात्र ‘फेरि’ उठ्छ, जब ऊ ढलेको हुन्छ।
ओलीले उल्लेख गरेको ‘खरानी’ को भाष्यले एमालेलाई घेरेको राजनीतिक संकटलाई स्वीकार गर्छ। ‘पुराना पार्टी सकिए’ भन्ने जेनजी आन्दोलनपछिको भाष्यलाई खारेज गर्न नसक्ने गरी जब अन्तरिम चुनावी सरकार बनाउनुपर्ने अवस्था आयो, त्यो नै एमालेको राजनीतिक धरातल कमजोर भएको प्रमाण थियो। खरानीबाट उठ्नुको अर्थ हो- हो, तिमीहरूले हामीलाई खरानी बनाउन खोज्यौ।
यदि एमाले साँच्चै ‘अजम्बरी’ (अमर) नै थियो भने, ‘फेरि’ उठ्ने प्रयास नै गर्नुपर्दैनथ्यो। अमर वस्तु कहिल्यै ढल्दैन। यो ‘अजम्बरी’ को दाबी केवल कार्यकर्ता र जनसाधारणमा मनोवैज्ञानिक आत्मविश्वासको शट लगाउने प्रयत्न मात्र हो।
आडम्बर, प्रतिनिधित्व वा जनबलको अभाव?
जनपरिचालन समिति र वडावडासम्म पुगेको निम्तो पत्रले यो महाधिवेशनलाई राष्ट्रिय शक्ति प्रदर्शनमा बदल्ने प्रयास गरिएको थियो। तर, अन्त्यमा ओलीले ‘महासागरका अगाडि यो सभामा जम्मा भएका हामी केही थोपा मात्रै हौं’ भन्दै सहभागितालाई ‘प्रतिनिधित्व’ को संज्ञा दिनुपर्यो।
जब पूरै बागमती प्रदेश र छिमेकी प्रदेशहरूबाट मान्छे ओसार्ने प्रबन्ध गरिन्छ, जनप्रतिनिधिहरूलाई ‘मान्छे ल्याउने’ विशेष दायित्व दिइन्छ, अनि पनि अन्तिममा त्यसलाई ‘केही थोपा’ भन्नुपर्दा, के यो दाबी गरिएजस्तो ‘जनसागर’ को असफलता होइन?
एमालेको नेतृत्वलाई थाहा छ- देश आज पनि जेनजी आन्दोलनले उठाएका मुद्दा र ‘पुरानो राजनीति’ प्रति क्रुद्ध छ। त्यसैले, महाधिवेशनलाई आन्तरिक लोकतन्त्रभन्दा राष्ट्रिय ‘हामी अझै छौं’ को हल्लामा परिणत गर्नुप¥यो।
‘फेरि उठ्ने’ एमाले- बाध्यात्मक राजनीतिक दाबी
एमालेको यो महाधिवेशन माटोमा मिलेको स्वीकारोक्ति लाई शक्ति प्रदर्शनको नाटक मा बदलेर गरिएको राजनीतिक पुनर्जन्मको दाबी हो। यो पार्टीको वास्तविक शक्ति नभई, ‘सकियो’ भन्ने भाष्यलाई आक्रमणकारी ढङ्गले खारेज गर्ने बाध्यात्मक प्रयास मात्र हो।
शुभकामना दिन आएका अन्य दलका नेताहरूले समेत ‘मुख्य दलहरूलाई जोगाउनु नै मुलुकको हितमा हुने’ निष्कर्ष सुनाउनुले के देखाउँछ भने, पुरानो सत्ता गठबन्धनको डर र त्रासले गर्दा नै आज सबै ‘अजम्बरी’ को खोक्रो नारामा एकजुट भएका छन्। यो जनताको साथ होइन, पुरानो राजनीतिको हताश भीड हो।
